महिनावारी नै नहुने अनेक कारणका बारेमा कुरा गर्नुभन्दा पहिले महिनावारी कसरी हुन्छ भन्ने कुरा छोटकरीमा चर्चा गरौं ।
मस्तिष्कको Hypothalamus भनिने भाग, पिटयुटरी ग्रन्थी र डिम्बाशयबाट निस्कने हर्मोनहरूले महिनावारीलाई सञ्चालन गर्छ । Hypothalamus बाट gonadotropin releasing hormone जसको प्रभावमा पिटयुटरी ग्रन्थीले follicular stimulating hormone (SH) तथा luteinizing hormone (LH) निकाल्छ ।
SH को प्रभावले डिम्ब परिपक्व हुन्छ तर पनि प्रोजेस्टेरोन तथा इस्ट्रोजनको मात्रा कम हुने भएकाले पाठेघरको भित्री तह तुहिन्छ र ३–६ दिनसम्म रगत बग्छ । त्यसपछि इस्ट्रोजनको मात्रा बढ्छ र hypothalamus लाई LH अत्यधिक मात्रामा निकाल्न मद्दत गर्छ अनि डिम्बाशयबाट डिम्ब निष्कासन हुन्छ । डिम्बाशयबाट डिम्ब निस्किएको ठाउँ (corpus luteum)ले प्रशस्त मात्रामा प्रोजेस्टेरोन र इस्ट्रोजन निकाल्छ र यसको प्रभावले पाठेघरको भित्री तह निसेंचित डिम्बलाई ग्रहण गर्न अझै बाक्लो बनाइ उपयुक्त बनाउँछ । यदि डिम्ब निसेचित भएन भने प्रोजेस्टेरोन र इस्ट्रोजनको मात्रा एक्कासि झर्छ । जसको असरले पाठेघरको भित्री तह फेरि तुहिन थाल्छ र अर्को महिनावारी सुरु हुन्छ ।

महिनावारी साधारणतया: ११ देखि १३ वर्ष उमेरका किशोरीहरूमा प्रारम्भ हुन्छ तर यो ९ देखि १८ वर्षको बीचमा कुनै पनि बेला सुरु हुनसक्छ । सामान्यतया: स्तनको विकास हुन थालेको एक वर्षपछि तिर महिनावारी प्रारम्भ हुन्छ । अन्य कतिपय लक्षण नलेख्नु भए पनि तपाईंले महिनावारी नभएको कुरा गर्नुभएको छ । यो एकदम महत्वपूर्ण कुरा हो । एक पटक पनि महिनावारी नहुनुले केही गम्भीर कुराको संकेत गरेको हुनसक्छ । अहिलेसम्म एकै पटक महिनावारी नहुनुले यो प्रणाली सुचारु रूपले सञ्चालन नभएको संकेत गर्छ ।

किशोरावस्थामा हुने अन्य परिवर्तनहरू भएर पनि १५ वर्षको भैसक्दा पनि एकपटक पनि महिनावारी नहुँदाको स्थितिलाई Primary Amenorrhoea भनिन्छ । यसका कारणका कुरा गर्दा पाठेघरको मुख बन्द हुनु, योनिच्छदमा प्वाल नै नहुनु, पाठेघर वा योनि नहुनु, योनिको बीचमा अर्को भित्ता (septum) हुनु मुख्य संचरनागत खराबी हुन् । उचित समयमा उचित मात्रामा हार्मोनहरूको निष्कासन नभएको हुनसक्छ जसको कारण मस्तिष्कमा हुने खराबी वा डिम्बाशयले ठीक काम गर्न नसक्नु हो । गम्भीर कुपोषण, दीर्घरोग, वंशाणुगत खराबी, पाठेघरको सक्रमण, अन्य जन्मजात खराबी वा टयुमर जस्ता कुराले पनि यस्तो स्थिति उत्पन्न गराएको हुनसक्छ । केही स्थितिमा कारण नै थाहा हुँदैन ।

के महिनावारी नभए सन्तान जन्माउन सकिँदैन ?
महिनावारीले प्रजनन प्रणालीले राम्रोसँग काम गरिरहेको कुरा जनाउँछ । महिनावारी नहुनु वा नियमित रूपमा नहुनुले सन्तान जन्माउन नसक्ने वा गाह्रो हुने निश्चित छ । त्यो डिम्ब उत्पादनमा भएको
समस्या होस् वा पाठेघरको संरचनागत खराबी ।

योनिद्वारमा भएको झिल्ली अर्थात् योनिच्छदमा प्वाल नभएका (imperforate hymen) कारणले महिनावारी नहुँदा भने अन्य प्रजनन प्रणाली ठीक नै भएको अवस्थामा हुन सक्ने भएको हुनाले उक्त झिल्लीमा प्वाल पारेपछि महिनावारी पनि हुने र सन्तान पनि जन्माउन सक्ने हुन्छ । यो अवस्थामा योनिबाट रगत नगए पनि महिनावारीमा मासिक रूपमा हुने लक्षण देखिन्छ ।
मासिक रूपमा पेट दुखेर अनि पेट ठूलो हुँदै आउँछ ।

अब के गर्ने ?
समस्याको निदान भएपछि मात्र उपचारको कुरा गर्नु मनासिव होला । त्यसैले समस्याको निदानतर्फ नै ध्यान दिनु आवश्यक छ । यसका लागि तपाईंले आफ्नो प्रजनन प्रणालीमा संरचनागत वा अन्य खराबी छ कि छैन भनेर पत्ता लगाउन स्त्रीरोग विशेषज्ञसँग जाँच गराउनुपर्ने हुन्छ ।

आवश्यक परे हर्मोनसम्बन्धी विशेषज्ञको सहायता पनि लिनुपर्ने हुन्छ । यसका लागि पेट अर्थात् कटि प्रदेशको भिडियो एक्स रे, टाउकोको सिटी स्क्यान तथा MRI, क्रोमोजोमको परीक्षण विभिन्न हार्मोनको परीक्षण गराउनुपर्ने हुनसक्छ । यी परीक्षणका आधारमा मात्र कस्तो उपचार गर्ने भन्ने निर्णय लिन सकिन्छ ।